"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कालीगण्डकी कोरिडोर पुन:अवरुद्ध

गुल्मी। पहिरोका करण शुक्रबादेखि बन्द रहेको कालीगण्डकी कोरिडोर एक तर्फी सञ्चालनमा आएको १२ घण्टा नपुग्दै पुन: अवरुद्ध भएको छ  ।

कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्वर २ को गरगरेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियोे । शुक्रबार बिहान सडक माथिबाट ठूलो ढुङुगासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको र आइतबार राती एकतर्फी रुपमा सञ्चालनमा आएको भएपनि सोमबार दिउँसोबाट पुन: अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिए।

आइतबार राती र सोमबार बिहान ठूलो पानी परेका कारण सोही स्थानमा माथिबाट पहिरो खसेपछि सडक पुन: अवरुद्ध भएको उहाँको भनाइ छ ।

कालीगण्डकी करिडोर गैंडाकोट राम्दी मालढुङ्गा सडक योजना कार्यालयका प्रमुख कल्पना अधिकारीका अनुसार निरन्तर माथिबाट पहिरो खसीराखेका कारण सडक खुलाउन समस्या भएको र समय लाग्ने बताए। आइतबार रातीबाट एकतर्फी रुपमा सडक खुलाए पनि सोमबारबाट सडक पुन: अवरुद्ध रहेको उनले बताए ।

उक्त स्थानको नजिकै एक्साभेटर र चालक रहेकाले पहिरो झर्ने क्रम रोकिएपछि सडक खुलाउन लाग्ने उनले बताए। तत्कालका लागि एक्साभेटहरु तयारी अवस्थामा राखी सडक खुलाउने र दीर्घकालीन रुपमा उक्त स्थानमा पहिरो रोकथामका लागि अध्ययन गर्नुपर्नेमा उनले जोड दिए। जसका लागि आफूहरुले सम्बन्धित निकायमा लेखि पठाएकाले अध्ययन हुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।

वर्षातको समयमा जोखिम बढी हुने भएकाले सर्तकता अपनाउन र केही समस्या भएमा नजिकको प्रहरी चौकी तथा प्रशासनमा खवर गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।

२०८२ असार ९ गते सोमवार १७:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु