जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब हो: प्रधानमन्त्री कार्की
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलन युवापुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब भएको बताएकी छन्।
प्रधानमन्त्री कार्कीले सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै यस्तो विचार व्यक्त गरेको हो ।
प्रधानमन्त्री कार्कीले विगतका उपलब्धि र कमजोरीको आत्ममूल्याङ्कन गर्दै आगामी दिनमा सुधारसहित अघि बढ्ने सङ्कल्प व्यक्त गरेको छिन् ।
उनले असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई लागू भएको नेपालको संविधान नेपाली जनताको बलिदान, सङ्घर्ष र आन्दोलनको प्रतिफल भएको स्मरण गर्दै यसको संरक्षण र सफल कार्यान्वयन सबै नेपालीको साझा दायित्व भएको बताइन्।
प्रधानमन्त्री कार्कीले हालैको जेनजी आन्दोलनलाई युवापुस्ताको असन्तुष्टि र अपेक्षाको प्रतिफलका रूपमा व्याख्या गर्दै लोकतन्त्र भनेको संवाद र समाधान खोज्ने प्रणाली भएकाले सरकार जनताका आवाज सुन्न र सम्बोधन गर्न प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
उनले आफू अन्तरिम व्यवस्थापनका लागि प्रधानमन्त्री बनेको स्पष्ट गर्दै छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने बताइन्।
संविधान दिवसको अवसरमा उहाँले जनआन्दोलनदेखि हालको आन्दोलनमा प्राण गुमाउने शहीदप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभ र क्षतिको पुनर्निर्माणमा सबैलाई हातेमालो गर्न आह्वान गरिन्।
साथै, सुशासन, पारदर्शिता, भ्रष्टाचार अन्त्य, रोजगारी र विकासका प्रश्नलाई राष्ट्रिय एजेन्डा मानेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत विशिष्ट पाहुनाको उपस्थिति थियो ।
२०८२ असोज ३ गते शुक्रवार १७:२१ बजे प्रकाशित























