"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्री कार्कीको सम्पत्ति छानबिन गर्न वाइसिएलको माग

काठमाडौं । माओवादी आन्दोलनको बीउबाट उम्रिएको युवा संगठन  योङ कम्युनिस्ट लिग (वाइसिएल)  फेरि एकपटक राजनीतिक केन्द्रमा पुगेकाे छ।

यसपटक वाइसिएलको स्वर सरकारमाथि छ, त्यो पनि आफ्नै सरकारमाथि ।  शुक्रवार काठमाडौंमा अनेरास्ववियु (क्रान्तिकारी) सँग संयुक्त पत्रकार सम्मेलन गर्दै वाइसिएलका अध्यक्ष पुष्प ओलीले ठाडो माग राखे “प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पत्ति छानबिन होस्।”

पूर्व प्रधानन्यायाधीशबाट प्रधानमन्त्री बनेकी सुशीला कार्की भ्रष्टाचार छानबिनको अभियान लिएर अघि बढेकी छन्।  तर वाइसिएलले भने सो अभियानलाई अझ गहिरो र निष्पक्ष बनाउन आग्रह गरेको छ।

अध्यक्ष ओलीले भने “यो न्यायमूलक राज्य हो। निष्पक्ष ढंगले सबैको छानबिन हुनुपर्छ। पूर्वप्रधानमन्त्री मात्रै होइन, पूर्वराजा, पूर्वराष्ट्रपति, राप्रपा र रास्वपाका नेताहरू पनि छानबिनको दायरामा आउनुपर्छ।”

भ्रष्टाचार केवल सत्ता पक्षको गल्ती होइन, यो पुरै व्यवस्थाको रोग हो, जसको उपचार निष्पक्ष हातले मात्र सम्भव छ। ‘छानबिन हाम्रो नेताबाटै सुरु होस्’ उनले भने  ।

वाइसिएल अध्यक्ष ओलीले आफ्नो अभिव्यक्तिमा आत्मआलोचना पनि जोड गरे। “हामीले पनि भनेका छाैं माओवादीलाई झन् छुट छैन। शहीदको रगतमाथि होली खेलेर कसैले भ्रष्टाचार गर्छ भने, कारबाही हाम्रै नेताबाट सुरु होस्,” उनले भने।

‘हाम्रै नेताबाट सुरु होस्’ यो वाक्य माओवादी आन्दोलनको भित्री जगमा गहिरो प्रभाव पार्ने प्रकारको चुनौती हो। किनकि इतिहासमा प्रायः छानबिन अरूका लागि मात्र हुने, आफन्तका लागि अपवाद रहने गरेको आरोप बारम्बार उठ्ने गरेको छ।

पत्रकार सम्मेलनमा ओलीले उठाएका प्रसङ्गहरू केवल सरकारको आलोचना थिएनन्। उनीले पुरानो सत्ता संरचनातर्फ पनि औंला ठड्याएका छन् । उनले भने  “पूर्वराजाका घर किन जलेनन् ? राप्रपाका कार्यालय किन सुरक्षित रहे ? रास्वपाको विषय पनि गम्भीर छ,” ओलीले प्रश्न गरे। यो प्रश्न प्रतीकात्मक छ सत्ताको समीकरण बदलिँदा पनि शक्तिको संरक्षण गर्नेहरूको कथा, जसको समीक्षा गर्न वाइसिएलले माग गरेको हो।

पत्रकार सम्मेलनमा अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष विजय प्रकाश सापकोटाले भने सरकारकै कार्यशैलीमाथि असन्तुष्टि जनाए। उनका अनुसार, “जनताले दिएको म्याण्डेट निर्वाचन गराउने र पारदर्शिता कायम गर्ने थियो, तर सरकार त्यस दिशातिर छैन।”

वाइसिएलको स्वर : आत्मसमीक्षा कि सत्ताको सन्देश ?

वाइसिएलले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको आफ्नै सरकारमाथि प्रश्न उठाउनु
कसरी बुझ्ने ?  के यो संगठनको आत्मसमीक्षा हो, कि आगामी राजनीतिक समीकरणको संकेत ?

नेपालको राजनीतिक संस्कृतिमा यस्तो कदम दुर्लभ छ । जहाँ सत्तासँग आबद्ध संगठनले आफ्नै सरकारमाथि आलोचना गर्छ।  तर यही कदमले वाइसिएललाई नयाँ राजनीतिक नैतिकताको प्रतीकका रूपमा पनि स्थापित गर्न सक्छ । यदि उनका शब्दहरू व्यवहारमा परिणत भए भने।

२०८२ असोज ३१ गते शुक्रवार १७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु