दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत इच्छुक व्यक्तिहरूले आवेदन दिइरहेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार दुई दिनको अवधिमा २७ हजारभन्दा बढी आवेदन सङ्कलन भइसकेको छ । दरखास्त आह्वानको दोस्रो दिन शनिबार मात्रै १७ हजार जनाले आवेदन दिएका थिए ।
नेपाल प्रहरीले यसपटकको निर्वाचनका लागि कुल १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरेको छ । म्यादी प्रहरी भर्ना तथा परिचालनका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरिसकेको छ ।
म्यादी प्रहरीमा भर्ना हुन इच्छुकहरूले माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसपटक सशस्त्र प्रहरी बल नेपालले पनि म्यादी प्रहरीको कोटा पाएको छ । सशस्त्र प्रहरीले जिल्ला सुरक्षा समितिमार्फत आवेदन सङ्कलन गरी भर्ना प्रक्रिया अघि बढाइरहेको छ । सशस्त्र प्रहरीले १५ हजार ११० जना म्यादी प्रहरी भर्ना गर्ने जनाएको छ ।
२०८२ पुस २७ गते आइतवार १६:४३ बजे प्रकाशित





















