विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा एमाले प्रवेश, ओलीले गरे स्वागत
काठमाडौं । विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश गरेका छन्। शनिबार एमाले मुख्यालय, च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गर्दै खादा र टिका लगाएर प्रवेश गराएका हुन्।
अग्रवाल पहिले जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य पनि थिए।
उनमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सेयर मूल्य कृत्रिम रूपमा बढाउने, झुटा कारोबार गर्ने र मूल्य प्रभावित गर्ने आरोपमा पक्राउ गरेको थियो। करिब १० दिन हिरासतमा अनुसन्धानपछि उनी हाजिर जमानीमा रिहा भएका थिए।
अग्रवालले गरेको विवादित गतिविधि:
सस्तोमा सेयर खरिद गरी मूल्य बढाएर बिक्री गर्ने
सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई झुटा आश्वासन दिने र खरिद गर्न उक्साउने
अन्य व्यक्तिका कारोबार खाता चलाउने र ब्रोकरसँगको भुक्तानी रोक्ने
एक खाताबाट पैसा अर्को खातामा अनाधिकृत ट्रान्सफर गर्ने
नेपाल धितोपत्र बोर्डले पनि अनुसन्धान गरी अग्रवालको सेयर कारोबार र भ्रामक सूचना फैलाउने कार्यलाई गलत ठहर गरेको थियो।
२०८२ माघ १० गते शनिवार १७:१३ बजे प्रकाशित























