भ्रष्टाचार विरोधी अभियानका कारण सरकारबाट बाहिरिनुपरेको थियो, रुकुम पूर्वबाट जनताको बीचमा फर्कन्छु: प्रचण्ड
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरोधी अभियान मन नपर्ने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन्। रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा चालेका कदमहरू केही शक्तिलाई मन नपरेको थियो।
प्रचण्डले प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध र सामाजिक विभेद अन्त्य गर्ने अभियान चलाएको स्मरण गर्दै, राष्ट्र तथा अन्तर्राष्ट्रिय सन्तुलित सम्बन्ध बनाएर मुलुकको समृद्धि बढाउने प्रयासमा ती अभियान मन नपरेको समूह सक्रिय भई सरकार ढलेको उल्लेख गरे। उनले अधुरा रहेका सुशासन र समृद्धिका कार्यक्रम पूरा गर्न जनताको र कार्यकर्ताको दृढता आवश्यक भएकाले पुन: जनताको बीचमा फर्कने तयारीमा रहेको बताए।
आगामी निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बन्ने निर्णयबारे प्रचण्डले भने, यो केवल निर्वाचन क्षेत्र परिवर्तन मात्र नभएको हो। रुकुम पूर्व जनयुद्धको केन्द्रीय आधार इलाका र ऐतिहासिक चुनवाङ बैठकबाट गणतन्त्रको घोषणा भएको क्षेत्र भएकाले, पार्टीको इतिहासको अविस्मरणीय घटनाहरूलाई सम्मान गर्न त्यहाँ जाने योजना रहेको उनले स्पष्ट पारे।
प्रचण्डले भोट माग्न मात्र नभई रुकुम पूर्वमा विकास, उत्पादन र रोजगारीको नयाँ मोडेल खडा गर्ने लक्ष्य राखेको बताए। जडीबुटी, पर्यटन, अर्ग्यानिक कृषि र आधुनिक भेडापालनमार्फत हजारौं युवालाई रोजगारी दिएर समाजवादको आधार तयार पार्ने योजना रहेको उनले सुनाए।
साथै, तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका सहिद तथा बेपत्ता योद्धालाई राष्ट्रिय सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरेको र पीडित परिवारलाई रोजगारी तथा आर्थिक परिपूरण दिने विधेयक तयार पारिएको जानकारी दिए। विधेयक कार्यान्वयनको सुरुवात रुकुम पूर्वबाट गर्ने योजना रहेको उनले बताए।
प्रचण्डले आफ्नो बाँकी जीवन राष्ट्र, सुशासन र समाजवादका लागि समर्पित गर्ने सङ्कल्प व्यक्त गर्दै, रुकुम पूर्वका जनताको भावना र विकासको चाहना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
२०८२ माघ १६ गते शुक्रवार १७:०७ बजे प्रकाशित





















