संसद्मा प्रधानमन्त्रीको पहिलो सम्बोधन: परिस्थितिले प्रधानमन्त्री बनायो, रहरले होइन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा पहिलोपटक सम्बोधन गरेकी छिन्। केहीबेरदेखि सभालाई सम्बोधन गरिरहेकी प्रधानमन्त्री कार्कीले आफू परिस्थितिवश यो जिम्मेवारीमा आइपुगेको बताइन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले यो पद आफ्नो रहर वा योजनाको परिणाम नभई परिस्थितिको बाध्यता भएको स्पष्ट पारिन्। पहिलोपटक संसद्लाई सम्बोधन गर्ने अवसर पाउँदा भावुक भएको उल्लेख गर्दै उनले जीवनमा यस्तो मौका फेरि पाउन कठिन हुने बताइन्।
‘जीवनमा यस्तो मौका पनि आयो। यो परिस्थितिले ल्याएको हो, रहरले होइन। मैले खोजेर गएको पनि होइन, परिस्थितिले बाध्य बनायो र म आएँ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिले मैले यहाँ पाएको अवसर सायद जीवनमा फेरि पाउन कठिन छ। मैले पाउने आशा गरेको पनि थिइनँ।’
आज पहिलोपटक यस्तो अनुभव गर्न पाउँदा खुसी लागेको बताउँदै उनले समयले साथ दिएर आएको यो मोडलाई जीवनको महत्वपूर्ण अनुभवका रूपमा लिएको उल्लेख गरिन्।
‘आज यसलाई जीवनको एउटा राम्रो अनुभवका रूपमा लिएको छु। यस्तो मोड आएकोमा खुसी लागेको छ। यहाँ उपस्थित भएर हेर्ने अवसर पनि पाएँ, बोल्ने मौका पनि पाएँ,’ प्रधानमन्त्री कार्कीले भनिन्।
२०८२ माघ १९ गते सोमवार १७:१९ बजे प्रकाशित























