संसद विघटनविरुद्धको रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गतेलाई साधारण तारेख
काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा माघ २८ गतेका लागि साधारण तारेख तोकेको छ। यसअघि सर्वोच्च अदालत प्रशासनले मंगलबारका लागि साधारण तारेख तोकेकाले आज पेशी चढ्ने अनुमान गरिएको थियो। तर सर्वोच्च अदालतको मुद्दा शाखाले पेशी नचढाई पुन: माघ २८ गतेलाई साधारण तारेख तोकेको हो।
यसअघि सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी रिटहरूमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षी निकायहरूसँग लिखित जवाफ माग गरेको थियो। तर सबै सम्बन्धित निकायबाट लिखित जवाफ प्राप्त नभएकाले सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्जनभन्दा बढी रिट निवेदन दर्ता भएका छन्। अदालतले ती सबै रिटलाई एकैसाथ राखेर सुनुवाइ गर्ने आदेश यसअघि नै जारी गरिसकेको छ। सो आदेशअनुसार अब संसद् विघटनसम्बन्धी सबै रिटको सुनुवाइ एउटै इजलासबाट हुने भएको छ।
सर्वोच्च अदालतमा संसद् पुन:स्थापनाको माग गर्दै हालसम्म १७ वटा रिट निवेदन दर्ता छन्।
२०८२ माघ २० गते मंगलवार १७:१४ बजे प्रकाशित




















