"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पानीजस्तै घरघरमा पाइपबाट ग्याँस पुर्‍याउन सकिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाइपमार्फत घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका छन्। घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै उनले अब नेपालमै खाना पकाउने ग्याँस उत्पादन हुने अवस्थामा पुगेको दाबी गरे।

उनले अब विदेशबाट आयात गरिने ग्याँसको विकल्प खोज्नुपर्ने उल्लेख गर्दै ग्याँस उत्पादनका लागि आवश्यक संरचना तयारी अवस्थामा रहे पनि प्रयोगमा नआएको बताए।

अध्यक्ष ओलीले भने, ‘अब विदेशबाट ल्याएको ग्याँस होइन। अहिले ग्याँस निकाल्न छाडेर ताला लगाएर राखिएको छ। त्यो ग्याँस निकाल्नुपर्छ। पानीजस्तै ठ्याकीमा राख्न सकिन्छ र घरघरमा पाइपबाट पुर्‍याउन सकिन्छ। त्यसका लागि सिलिन्डर आवश्यक पर्दैन।’

उनले गुइँठा बाल्नु संस्कृति नभई गरिबीको संकेत भएको भन्दै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिए।

‘संस्कृति बचाउनुपर्छ, गरिबी हटाउनुपर्छ। मान्छेहरूलाई अलमलमा पारेर हाम्रो बेइज्जत गर्‍यो भनेर भनिन्छ। गुइँठा वा दाउरा बाल्ने होइन, अब बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ,’ उनले भने।

अध्यक्ष ओलीले गुइँठा बाल्ने अवस्थाभन्दा माथि उठ्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै काठमाडौंमा चुनाव जित्ने अवस्था नभएपछि झापा आएको टिप्पणी पनि गरे।

२०८२ माघ २६ गते सोमवार १७:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु