दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईं सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार प्रसाईंमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर तथा अफवाह फैलाउन नपाउने कसुरमा पनि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट म्याद लिइएको हो।
प्रसाईंले सरकारसँगको सम्झौता पूरा नभए अनिश्चितकालीन बन्द गराउने तथा चुनाव हुन नदिने अभिव्यक्ति दिँदै आएका थिए। यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए।
२०८२ फागुन ५ गते मंगलवार १७:२९ बजे प्रकाशित






















