प्रत्येक बुथमा ३० जना भोलेन्टियर खटाउन ओलीको निर्देशन
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनलाई लक्षित गर्दै प्रत्येक मतदान बुथमा कम्तीमा ३० जना स्वयंसेवक (भोलेन्टियर) परिचालन गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।
सोमबार झापामा आयोजित पार्टीको कोशी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मत सुरक्षाका लागि टोलटोलमा सुरक्षा समिति गठन गर्न र पार्टीको तर्फबाट स्वयंसेवक परिचालनको तयारी गर्न आग्रह गरे।
उनले स्थानीय तहमा निर्माण गरिएका भोलेन्टियर फोर्सहरू पार्टीको निर्णय र निर्देशनअनुसार परिचालित हुने भएकाले सोहीअनुसार वातावरण बनाउनुपर्ने स्पष्ट पारे।
अध्यक्ष ओलीले भने, “गाउँगाउँमा, टोलटोलमा सुरक्षा समितिहरू बनाउनुहोस्। नेशनल भोलेन्टियर्स फोर्स निर्माणका लागि पार्टीलाई सहयोग गर्नुस्। स्थानीय पार्टीले अत्यधिक हस्तक्षेप गरेर चलाउने होइन, आफ्नै ढंगले जनसंगठन चल्न दिनुपर्छ। तर भोलेन्टियर्स फोर्सले स्थानीय पार्टीका निर्णय र निर्देशनसँग टकराएर काम गर्दैन। चुनावका लागि हरेक बुथमा कम्तीमा ३० जना भोलेन्टियर निर्माण गर्नुहोस् र त्यसअनुसार अगाडि बढ्नुहोस्।”
देशको सुरक्षाका लागि सुरक्षा निकायलाई सहयोग पुर्याउने उद्देश्यले पार्टीले भोलेन्टियर्स फोर्स निर्माण गर्न लागेको पनि उनले बताए।
२०८२ फागुन ११ गते सोमवार १६:५८ बजे प्रकाशित























