ग्यास अभाव र मूल्यवृद्धि: संकटको समयमा उपभोक्ता ठग्ने विक्रेतालाई कारवाही गर्न माग
काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारले तोकेको मूल्यभन्दा बढी बिक्री गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
महासंघले मंगलबार जारी विज्ञप्तिमा केही विक्रेताले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका अनुसार, मध्यपूर्वमा देखा परेको अशान्तिको असरले उपभोक्तामा भविष्यमा ग्यास नपाउने डर हुनु स्वाभाविक भए पनि, संकटको फाइदा उठाएर मूल्यवृद्धि गर्नु गंभीर अपराध हो।
त्यसैले, देशभरिका विक्रेतालाई कुनै पनि गैरकानुनी काम नगर्न र जिम्मेवार सेवा प्रवाह गर्न अपिल गरिएको छ। साथै, संकटको समयमा उपभोक्ता ठग्ने विक्रेता वा ग्यास उद्योगीलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरिएको छ।
महासंघले यो सूचना सबै जिल्ला संघमार्फत विक्रेतामा पुर्याउन पनि निर्देशन दिएको छ।
२०८२ फागुन २६ गते मंगलवार १७:१६ बजे प्रकाशित






















