नवनिर्वाचित सांसदको शपथ चैत १२ गते, संसद् सचिवालयद्वारा दलहरूसँग परामर्श
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ।
सिंहदरबारस्थित सचिवालयमा बिहीबार सम्पन्न परामर्शमा नवनिर्वाचित सांसदहरूको शपथ, संसदीय दलको व्यवस्थापन तथा सांसदहरूको अभिमुखीकरणसम्बन्धी विषयमा छलफल गरिएको सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए।
परामर्शअनुसार नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रम चैत १२ गते दिउँसो २ बजेका लागि तय गरिएको छ। शपथअघि आवश्यक कागजात पूरा गर्न तोकिएको मितिभन्दा एक दिन अगाडि नै आएर शपथसम्बन्धी फारम भर्न सचिवालयले दलहरूलाई आग्रह गरेको छ।
सचिवालयले राजनीतिक दलहरूका लागि कार्यालय व्यवस्थापनबारे जानकारी गराउँदै सम्बन्धित कर्मचारीसँग समन्वय गराइदिएको पनि जनाएको छ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट महामन्त्री कविन्द्र बुर्लाकोटी, कांग्रेसका तर्फबाट मोहन आचार्य, एमालेका तर्फबाट गुरु बराल तथा नेकपाका तर्फबाट रमेश मल्ल सहभागी रहेका थिए।
२०८२ चैत ५ गते बिहीवार १७:२५ बजे प्रकाशित






















