"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै मातहतमा रहने

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हाल्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त जिम्मेवारी हालका लागि प्रधानमन्त्रीकै मातहत रहनेछ।

विवादित व्यापारी दीपक भट्ट सँग साझेदारी रहेको तथ्य सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। त्यसपछि आफूमाथि निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले उनले पदबाट राजीनामा दिएका हुन्।

अहिलेको सरकार गठन भएको २६ दिनमै गृहमन्त्री गुरुङले पद त्याग गरेका हुन्। उनको सम्पत्तिमाथि प्रश्न उठेपछि उनले प्रधानमन्त्रीलाई भेटेरै राजीनामा बुझाएका थिए।

केही दिनअघि सार्वजनिक गरिएको उनको सम्पत्ति विवरण अस्वाभाविक रहेको भन्दै आलोचना भएको थियो। त्यसैबीच माइक्रो इन्स्योरेन्स लगायतका क्षेत्रमा गरेको थप लगानीको विवरण पनि सार्वजनिक भएपछि विवाद थप चर्किएको थियो।

त्यस्तै, उनले सञ्चालन गरेको ‘हामी नेपाल’ नामक सामाजिक संस्थामा आएको सहयोग रकम व्यक्तिगत खातामार्फत् कारोबार गरिएको आरोपसमेत सार्वजनिक भएपछि गुरुङमाथि चौतर्फी दबाब परेको थियो। सोही दबाबका बीच उनले बुधबार पदबाट राजीनामा दिएका हुन्।

२०८३ वैशाख ९ गते बुधवार १७:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु