सुकुम्बासी समस्या समाधानमा लोकतान्त्रिक शैली अपनाउन कांग्रेसको आग्रह
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउन सरकारले लोकतान्त्रिक शैली अपनाउनु पर्नेमा जोड दिएको छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अव्यवस्थित बस्ती हटाउने बहानामा गरिएको बल प्रयोगका कारण सर्वसाधारणको ज्यान समेत गएको बताए।
नेता आङ्देम्बेले सरकार अभिभावकीय भूमिकामा रहनुपर्ने औँल्याए । विद्यालयमा डोजर लगाउँदा सयौँ विद्यार्थीको भविष्य अन्योलमा परेको उल्लेख गर्दै उनले सरकारलाई मानवीय संवेदनशीलता अपनाउन आग्रह गरे। सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट नीति, प्रक्रिया र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
मुलुकलाई व्यवस्थित र सुन्दर बनाउने विषयमा प्रतिपक्षको कुनै विमति नरहेको स्पष्ट पार्दै नेता आङ्देम्बेले भने, “हाम्रा खोलानाला र राजधानी सुन्दर बनोस् भन्ने सबैको साझा चाहना हो, तर राज्य सञ्चालनको शैली लोकतान्त्रिक हुनुपर्छ।” बल प्रयोगमार्फत गरिने व्यवस्थापनले नागरिकमा त्रास सिर्जना गर्ने र त्यसले विद्रोह निम्त्याउन सक्ने चेतावनी उहाँले दिए।
सरकारले जनमतको विश्वास नगरेर संसद्लाई बन्धक बनाएको र अध्यादेशमार्फत चोर बाटोबाट देश चलाउन खोजेको आरोप उनले लगाए। “चोर बाटोबाट हिँड्नेहरूले मुलुकलाई दिगो शान्ति र विकासतर्फ डोर्याउन सक्दैनन्,” उनले भने। जेठ १५ गते बजेट ल्याउनुपर्ने र नीति तथा कार्यक्रममा छलफल गर्नुपर्ने समयमा संसद्लाई निष्क्रिय राख्न नहुनेमा उहाँले जोड दिए।
२०८३ वैशाख १९ गते शनिवार १७:२५ बजे प्रकाशित























