खुर्कोट–भकुन्डेबेसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन नपाइने
काठमाडौं । बीपी राजमार्ग अन्तर्गतको खुर्कोट–भकुन्डेबेसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार सूचना जारी गर्दै उक्त समयमा उक्त सडकखण्डमा पूर्ण रूपमा सवारी आवागमन बन्द रहने जनाएको हो।
प्रशासनका अनुसार उक्त समयपछि पनि वर्षा, रोशी खोलामा आउन सक्ने बाढी तथा मौसमको अवस्थालाई मध्यनजर गर्दै आवश्यक परेमा जुनसुकै बेला अस्थायी रूपमा सडक आवागमन रोक्न सकिने व्यवस्था गरिएको छ।
त्यस्तै, बीपी राजमार्गको कटुन्जेबेसी (काभ्रे)–नेपालथोक (सिन्धुली) खण्डमा यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।
यसअघि सोमबार राति रोशी खोलामा अचानक बाढी आउँदा माइक्रोबससहित ८९ जना यात्रु बीच खोलामा फसेका थिए। उनीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा सकुशल उद्धार गरेको थियो।
२०८३ वैशाख २२ गते मंगलवार १७:१३ बजे प्रकाशित























