प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार संसद् बैठकमा प्रधानमन्त्रीले दिएको भनाइलाई एमालेले गैरजिम्मेवार, तथ्यहीन र राष्ट्रिय हितविपरीत भएको आरोप लगाएको हो।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले संसद्को रोस्ट्रमबाट ‘नेपालले पनि अरूको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनु अत्यन्त खेदजनक भएको बताएका छन्।
आचार्यले ऐतिहासिक दस्तावेज, नक्सा तथा तथ्यहरूले नेपालको भूमि अतिक्रमणमा परेको विषय स्पष्ट रूपमा देखाउने दाबी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले अनावश्यक भ्रम सिर्जना गरेको उल्लेख गरेका छन्। उनका अनुसार नेपालको सीमा अतिक्रमण भएको विषय इतिहास र प्रमाणहरूले पुष्टि गर्ने भएकाले नेपाललाई नै दोषी देखाउने अभिव्यक्ति उपयुक्त हुन सक्दैन।
उनले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने जिम्मेवारीमा रहेको नेतृत्वबाट आएको यस्तो अभिव्यक्तिले राष्ट्रिय हितमा नकारात्मक असर पार्ने बताएका छन्।
एमालेले प्रधानमन्त्रीको भनाइले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सीमासम्बन्धी अध्ययन–अनुसन्धानमा संलग्न विज्ञ तथा आम नेपाली नागरिकको भावनामाथि चोट पुगेको जनाएको छ। राष्ट्रियता र सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिलाई एमालेले अपरिपक्व र भ्रमपूर्ण रहेको टिप्पणी गरेको छ।
पार्टीले प्रधानमन्त्रीको भनाइ सच्याउन तथा सरकारको स्पष्ट धारणा संसद् र जनतासामु सार्वजनिक गर्न माग गरेको छ। साथै, राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासम्बन्धी विषयमा कुनै पनि प्रकारको अस्पष्टता वा सम्झौता स्वीकार्य नहुने एमालेले स्पष्ट पारेको छ।
२०८३ जेठ १७ गते आइतवार १७:२९ बजे प्रकाशित





















