रवीलाई कांग्रेसको प्रश्न: दिल्लीमा हुँदा सीमाको ‘स’ र कालापानीको ‘क’ उच्चारण नगरी किन फर्किनुभयो ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत भ्रमणप्रति प्रश्न उठाएका छन्। उनले भ्रमणका क्रममा नेपाल–भारत सीमा तथा कालापानीको विषयमा कुनै चर्चा नगरेको भन्दै आपत्ति जनाए।
प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले लामिछानेले भारतको राजधानी नयाँ दिल्लीमा रहँदा सीमा समस्याबारे आवाज नउठाएको आरोप लगाए। उनले कालापानीलगायत राष्ट्रिय हितसँग जोडिएका विषयमा स्पष्ट धारणा राख्नुपर्ने बताएका हुन्।
लामिछानेले सीमा विवाद ढोल बजाएर छलफल गर्ने विषय नभएको भनी दिएको अभिव्यक्तिप्रति पनि आङ्देम्बेले असन्तुष्टि व्यक्त गरे। उनले कूटनीतिक विषयहरू निश्चित प्रक्रिया र मापदण्डअनुसार उठाइने भए पनि त्यसको अर्थ मौन बस्नु नभएको तर्क गरे।
आङ्देम्बेले भने, “दिल्लीमा हुँदा सीमाको ‘स’ र कालापानीको ‘क’ उच्चारण नगरी किन फर्किनुभयो ? हामीलाई पनि थाहा छ, यस्ता विषय ढोल बजाएर उठाइँदैनन्। यसको आफ्नै मापदण्ड र प्रक्रिया हुन्छन्।”
उनको भनाइले राष्ट्रिय हितका विषयमा राजनीतिक दलका नेताहरूले विदेश भ्रमणका क्रममा समेत स्पष्ट रूपमा आफ्नो धारणा राख्नुपर्ने सन्देश दिएको छ।
२०८३ जेठ २७ गते बुधवार १८:३१ बजे प्रकाशित























