काठमाडौँ महानगरले ७ क्लस्टरमा फोहर व्यवस्थापन गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘सर्कुलर इकोनोमी’को अवधारणालाई प्रवर्द्धन गर्दै महानगर क्षेत्रलाई ७ क्लस्टरमा विभाजन गरी प्रविधिमा आधारित फोहरमैला व्यवस्थापन गर्ने भएको छ।
आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा महानगरपालिकाले फोहरमैलाको नि:शुल्क, सशुल्क, न्यूनीकरण तथा सृजनात्मक पुन:चक्रीय प्रयोगलाई प्रोत्साहन गर्दै वैज्ञानिक व्यवस्थापनको योजना अघि सारेको हो।
नीति तथा कार्यक्रमअनुसार स्थानान्तरण केन्द्रबाट निष्कासित न्यून फोहरलाई बन्चरेडाँडा ल्याण्डफिल साइटमा सञ्चालन गरिने मेकानाइज्ड मेटेरियल रिकभरी फ्यासिलिटी ९एमआरएफ० मार्फत वैज्ञानिक रूपमा व्यवस्थापन गरिनेछ।
महानगरपालिकाले सार्वजनिक तथा खाली स्थानलाई बालबालिका र ज्येष्ठ नागरिकमैत्री पार्कका रूपमा विकास तथा विस्तार गर्दै लैजाने योजना पनि अघि बढाएको छ।
फोहरमैला व्यवस्थापन सेवा शुल्क ‘प्रदूषकले तिर्ने’ सिद्धान्तअनुसार एकद्वार प्रणालीमार्फत सङ्कलन गर्ने व्यवस्था गरिनेछ। साथै, बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहरको परिमाण र प्रकृतिका आधारमा वित्तीय साझेदारी सुनिश्चित गर्न पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यसैगरी, फोहरमैला व्यवस्थापनसम्बन्धी सूचना तथा विवरण अनलाइन एपमार्फत महानगरपालिका, सेवा प्रदायक र सेवाग्राहीको पहुँचमा पुर्याइने विशेष व्यवस्था गरिनेछ।
महानगरपालिकाले उपयुक्त प्रविधिको प्रयोगमार्फत वायु, जल, जमिन, ध्वनि तथा दृश्य प्रदूषण नियन्त्रण गर्ने जनाएको छ। साथै सङ्घ, प्रदेश र अन्य स्थानीय तहसँग समन्वय, सहकार्य तथा साझेदारी गर्दै वातावरण संरक्षण, प्रदूषण नियन्त्रण र न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
२०८३ जेठ ३१ गते आइतवार १७:४१ बजे प्रकाशित























