सिमाबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण: हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं
चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा विवादबारे संसदमा दिएको अभिव्यक्तिको विषयमा स्पष्टिकरण दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सीमा विवाद समाधानका लागि ब्रिटेनलाई मध्यस्थ बनाउने आशय नभएको स्पष्ट पारे।
उनका अनुसार कालापानी–लिपुलेक क्षेत्रसँग सम्बन्धित प्रमाणहरू नेपालसँग रहेको र आवश्यक परे ब्रिटिश शासनकालका कागजात समेत प्रस्तुत गर्न सकिने मात्र आशय आफूले व्यक्त गरेको हो।
संसद्मा उनले भारतसँगको सीमा विवादबारे ब्रिटिससँग पनि कुरा गर्न तयार रहेको बताएका थिए । यसबारे दुई देशको सीमा विवादबारे तेस्रो देशको उपस्थित किन चाहियो भनेर प्रश्न उठेको थियो । उनले यसबारे भने, ‘हामीसँग कालापानी लिपुलेकको प्रमाण छ । हामीले पहिले ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं ।’
उनले छिमेकीहरूसँग प्रमाणका आधारमा कुरा गरेर सीमा समस्या हल गर्ने पनि बताए । ‘हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौं । हामीसँग प्रमाण छ, ‘ उनले भने,’मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नुपर्दैन
बालेन शाहले छिमेकी राष्ट्रहरूसँग प्रमाणका आधारमा संवाद गरेर सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह गरे।
उनले नेपाल आफ्नै पहलमा छिमेकीसँग संवाद गरेर समस्या समाधान गर्न सक्षम रहेको पनि बताए।
२०८३ असार ७ गते आइतवार १८:३१ बजे प्रकाशित























