"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कर प्रशासन प्रभावकारी बने नेपाल चाँडै ग्रे लिस्टबाट बाहिरिन्छ: अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्।

आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका मातहत कार्यालयका कर अधिकृतलाई बिहीबार सम्बोधन गर्दै उनले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल चाँडै ‘ग्रे लिस्ट’बाट बाहिरिने विश्वास व्यक्त गरे।

अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराध नियन्त्रणमा कर प्रशासनको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्दै यस्ता गतिविधिमाथि सूक्ष्म र प्रभावकारी निगरानी गर्न निर्देशन दिए।

उनले कर प्रशासनमा कार्यरत कर्मचारीको वृत्तिविकास उनीहरूको कार्यसम्पादन, व्यावसायिकता र राज्यलाई पुर्‍याएको योगदानका आधारमा मूल्याङ्कन गरिने बताए।

कर सङ्कलनका लागि दबाब वा त्रास सिर्जना गर्नेभन्दा स्वेच्छिक कर अनुपालनलाई प्रवर्द्धन गर्दै करदातालाई करको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए।

अर्थमन्त्री वाग्लेले कर प्रशासनलाई थप चुस्त र प्रभावकारी बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिसम्बन्धी कुनै समस्या भए खुलस्त रूपमा जानकारी गराउन कर्मचारीलाई आग्रह गरे। राम्रो काम गर्ने र राज्यलाई लाभ पुर्‍याउने कर्मचारीलाई प्रोत्साहन गरिने पनि उनले स्पष्ट पारे।

उनले चालु आर्थिक वर्षको बजेटलाई अर्थतन्त्रको दीर्घकालीन सुधारको आधारका रूपमा बुझ्न आग्रह गर्दै आगामी चार आर्थिक वर्षका बजेटमार्फत सरकारले निर्माण गर्न चाहेको आर्थिक संरचनाको स्पष्ट आधार देखिने बताए।

बजेटमा घोषणा गरिएका कर छुटका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना अभिवृद्धि गर्न तथा आर्थिक कारोबारलाई थप डिजिटल बनाउन आवश्यक सबै पहल गर्न उनले विभागीय नेतृत्वलाई निर्देशन दिए।

२०८३ साउन ७ गते बिहीवार १७:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु