नेपालमै अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण व्यवस्था मिलाउन प्रधानमन्त्री शाहको निर्देशन
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक कृषि उपजको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्गानिक कृषि व्यवसायीहरूको छाता संगठन ‘अर्गानिक एसोसिएसन नेपाल’का पदाधिकारीसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन्।
छलफलमा एसोसिएसनका पदाधिकारीहरूले अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण प्रक्रिया अत्यन्त खर्चिलो भएकाले सरकारको पहलमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण संस्था नेपालमै स्थापना गर्नुपर्ने माग राखेका थिए।
उक्त मागप्रति सकारात्मक हुँदै प्रधानमन्त्री शाहले नेपालमै अर्गानिक उत्पादनको प्रमाणीकरण व्यवस्था विकास गर्न आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।
व्यवसायीहरूले अन्तर्राष्ट्रिय प्रमाणीकरण महँगो हुने भएकाले सरकारले उपलब्ध गराउँदै आएको प्रमाणीकरण अनुदान पुन: सञ्चालन गर्नुपर्ने माग पनि राखेका थिए। नेपालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रमाणीकरण संस्था स्थापना नभएसम्म अनुदानलाई निरन्तरता दिने विषयमा प्रधानमन्त्री शाह सकारात्मक देखिएका छन्।
प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल तथा विषादीको प्रयोग नियन्त्रण गर्दै अर्गानिक कृषिको प्रवर्द्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताए।
छलफलमा व्यवसायीहरूले प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई अनुदान उपलब्ध गराउनुपर्ने माग गरेका थिए। उक्त मागअनुसार आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
अर्गानिक मलको उत्पादन वा खरिदमा रासायनिक मलसरह सुविधा उपलब्ध गराउने मागमा पनि प्रधानमन्त्री शाह सकारात्मक रहेको जनाइएको छ।
यसैगरी, अर्गानिक उत्पादन निर्यातमा सरकारले दिँदै आएको अनुदान विगत दुई वर्षदेखि रोकिएको विषयमा कानुनी समाधान खोज्न सम्बन्धित मन्त्रालयले कार्यविधि तयार गरिरहेको जानकारी प्रधानमन्त्री शाहले दिएका छन्।
२०८३ साउन ७ गते बिहीवार १७:१२ बजे प्रकाशित























