आइतबारको बिदा कायम रहने, शिक्षकले कम्तीमा तीन वर्ष एउटै विद्यालयमा पढाउनुपर्ने
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने बताएको छन् ।
शिक्षा पत्रकार समूहका प्रतिनिधिसँगको भेटघाटका क्रममा मन्त्री पोखरेलले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय अलोकप्रिय जस्तो देखिए तापनि यो व्यवस्था नहट्ने र यसले निरन्तरता पाउने स्पष्ट पारे।
शिक्षामन्त्री पोखरेलले भने , ‘शनिबार र आइतबार दुई दिनको बिदा अलोकप्रिय हो भन्ने थाहा छ तर पनि यसले निरन्तरता पाउँछ । यो हट्दैन ।’
सोही क्रममा मन्त्री पोखरेलले शिक्षकको सरुवासम्बन्धी विषयमा बोल्दै नियमावली तत्काल संशोधन गर्न नसकिने बताउनुभयो। ‘शिक्षकले आफू कार्यरत विद्यालयमा कम्तीमा तीन वर्ष सेवा गर्नुपर्छ,’ उनले भने, ‘तसर्थ तीन वर्ष नपुग्दै सरुवा हुन पाउनुपर्छ भन्ने माग पूरा गर्न शिक्षा नियमावली तत्काल संशोधन गर्न सकिँदैन।’
२०८३ साउन ८ गते शुक्रवार १७:१६ बजे प्रकाशित























