बाल मन्दिर ठगी प्रकरण: आठ जनाविरुद्ध मुद्दा दायर, तीन पक्राउ
काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर)मा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा ठगीको कसुरमा मुद्दा दायर गरिएको हो।
मुद्दा दायर गरिएकामध्ये नेपाल बाल संगठनका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ, तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति भगवान शाक्य तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार रहेका छन्।
प्रतिवादी बनाइएका आठ जनामध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्यलाई प्रहरीले पक्राउ गरिसकेको छ। बाँकी पाँच जनालाई फरार प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको छ।
सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले उनीहरुविरुद्ध ठगीको कसुरमा मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो।
यस प्रकरणको छानबिन गर्न उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले २०७७ सालमै सरकारलाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गत चैतमा गरेपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धान पूरा भएपछि प्राप्त प्रमाणका आधारमा आठ जनाविरुद्ध ठगीको कसुरमा अदालतमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।
२०८३ साउन ८ गते शुक्रवार १७:२४ बजे प्रकाशित























