तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे, चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ गरी राखिएको द्यब्भ् ण्द्धज्ञण् नम्बरको विद्युतीय कारभित्र शनिबार दिउँसो करिब १ बजे शव फेला परेको हो।
मृतक तारकेश्वर नगरपालिका–९, शुभकामना चोक निवासी ४५ वर्षीया रश्मी रिजाल रहेको प्रहरीले जनाएको छ। उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा ‘मर्चेन्ट हेड’का रूपमा कार्यरत थिइन्। पारिवारिक स्रोतका अनुसार उनी साउन ८ गते बिहान ७ बजेदेखि सम्पर्कविहीन भएकी थिइन्।
प्रहरीका अनुसार रिजालको शव कारको पछाडिको सिटमा जलेको अवस्थामा फेला परेको हो। घटनालगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ।
कारभित्रै डढेको अवस्थामा शव भेटिएकाले घटनाको कारण र प्रकृतिबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार घटनाको विस्तृत विवरण र मृत्युको वास्तविक कारण पत्ता लगाउन प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ।
२०८३ साउन ९ गते शनिवार १७:१२ बजे प्रकाशित























