सहकारीको बचत फिर्ता माग गर्दै माइतीघरमा पीडितहरूको प्रदर्शन
काठमाडौं । सहकारीमा बचत गरेको रकम फिर्ता गर्न माग गर्दै सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको संयोजकत्वमा आयोजित प्रदर्शनमा सहभागीहरूले सरकारसँग बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन माग गरेका हुन्।
प्रदर्शनकारीहरूले ‘सहकारी पीडित बचतकर्ताहरूलाई न्याय देऊ’, ‘जग्गा मिलानका नाममा बचतकर्तामाथि हुने ठगी बन्द गर’, ‘सहकारी पीडित बचतकर्ता एक होऔँ’ तथा ‘ए सरकार, कि त मारिदेऊ, कि त खोला तारीदेऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए।
उनीहरूले सहकारी संकटका कारण हजारौं बचतकर्ता समस्यामा परेको उल्लेख गर्दै दोषीमाथि कारबाही, बचत रकम फिर्ता र पीडितलाई शीघ्र न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनका क्रममा माइतीघर–बबरमहल सडक क्षेत्रमा केही समय नाराबाजी गरिएको थियो। आन्दोलनरत पक्षले बचतकर्ताको रकम फिर्ता नभएसम्म दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने चेतावनी पनि दिएको छ।
२०८३ साउन ११ गते सोमवार १७:२९ बजे प्रकाशित























