वीरगञ्जमा निषेधाज्ञा लागू, पाँच जनाभन्दा बढी भेला हुन रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको हो।
प्रशासनका अनुसार निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ।
निषेधाज्ञा लागू गरिएको क्षेत्रको सीमा पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ।
प्रशासनले शान्ति–सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न निषेधाज्ञा जारी गरिएको जनाएको छ। आदेश उल्लंघन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।
२०८३ साउन १४ गते बिहीवार १७:२८ बजे प्रकाशित























