सुकुमवासीको माइतीघरमा प्रदर्शन – ‘होइ सरकार होइ, मेरो घर खोइ ?
काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
सरकारले व्यवस्थापनका लागि दिएको १०० दिनको समयसीमा सकिएको उल्लेख गर्दै उनीहरूले आफूहरूको माग अझै सम्बोधन नभएको भन्दै विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले ‘उठीबासको अन्त्य, समानताको सुरुवात’, ‘होइ सरकार होइ, मेरो घर खोइ ?’, ‘नेताको घर ठीक, गरिबको टहरा बेठिक ?’, ‘डोजर आतंक बन्द गर’ र ‘डोजर होइन, समाधान दे’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
उनीहरूले उचित वैकल्पिक व्यवस्थापन नगरी बस्ती हटाउने कार्य रोक्न सरकारसँग माग गर्दै आवासको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले सरकारले दिएको प्रतिबद्धता कार्यान्वयन गर्न र विस्थापित परिवारको दीर्घकालीन व्यवस्थापनका लागि ठोस योजना ल्याउन आग्रह गरेका छन्।
२०८३ साउन १८ गते सोमवार १७:०८ बजे प्रकाशित























