मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, पहिरो पन्छाउन उपकरण परिचालन
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दिउँसो २:१० बजेदेखि सडक अवरुद्ध भएको हो। पहिरो हटाउन तत्काल एउटा उपकरण परिचालन गरिएको छ भने थप दुईवटा उपकरणसमेत घटनास्थलतर्फ पठाइएको छ।
सडक डिभिजन भरतपुरले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन करिब ४५ मिनेट लाग्ने अनुमान गरेको छ। यद्यपि पहिरोको अवस्था र कामको प्रगतिअनुसार समय थपघट हुन सक्ने जनाएको छ।
यसअघि सोमबार बिहान पनि मुग्लिन–नारायणगढ सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेको थियो। त्यसपछि एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको थियो।
बिहान खसेको पहिरो हटाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइए पनि पुन: पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
२०८३ साउन १८ गते सोमवार १७:१६ बजे प्रकाशित























