रास्वपा सांसद सिंहको प्रश्न : मधेशमा आन्दोलन हुँदा किन गोली नै चलाइन्छ ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा आन्दोलन वा तनावपूर्ण अवस्था सिर्जना हुँदा बल प्रयोगको तरिकाबारे सरकारसँग प्रश्न उठाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले मधेशमा हुने घटनामा सुरक्षाकर्मीले गोली चलाउने प्रवृत्तिमाथि प्रश्न गर्दै भीड नियन्त्रणका लागि अश्रुग्यास र लाठीजस्ता कम घातक विकल्पलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
प्रहरीलाई पर्याप्त गैरघातक उपकरण उपलब्ध गराउनुपर्ने उल्लेख गर्दै उनले आन्दोलन नियन्त्रणका क्रममा अश्रुग्यास र लाठीको प्रयोगलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।
सिंहले मधेशलाई पछाडि पार्ने, गरिबी र असमानतालाई निरन्तरता दिने तथा सामान्य तनावमा पनि गोली चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। शान्ति–सुरक्षा कायम गर्ने क्रममा मानव जीवनको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
उनले समुदायबीच द्वन्द्व सिर्जना गर्नुको सट्टा गरिबी, पछौटेपन र असमानताविरुद्ध लड्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
सुनसरी घटनापछि सर्वदलीय बैठक बोलाएको भन्दै रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिँदै सिंहले प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नु सकारात्मक भए पनि त्यो कदम अझै पहिले चालिनुपर्ने धारणा व्यक्त गरे।
२०६३ सालदेखि संसद्मा प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्दै सिंहले मधेशमा हुने आन्दोलनका बेला बल प्रयोगको अभ्यासबारे पुन: समीक्षा गर्न सरकारसँग आग्रह गरे।
२०८३ साउन १९ गते मंगलवार १७:५२ बजे प्रकाशित























