"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एलपी ग्यास अभाव रोक्न आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन, हटलाइनबाट गुनासो सुन्ने

काठमाडौं। बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई नियन्त्रण गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बनेको उक्त टोलीले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको निगमले जनाएको छ।

निगमका अनुसार ग्यास आपूर्ति तथा वितरणमा देखिने तत्कालीन समस्या छिटो समाधान गर्न मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग र ग्यास उद्योगीका प्रतिनिधिहरू सम्मिलित विशेष संयन्त्र गठन गरिएको हो।

टिममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट मंगल बिष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी, तथा ग्यास उद्योगीका तर्फबाट आयुष नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्।

देशका कुनै पनि क्षेत्रमा एलपी ग्यासको अभाव वा वितरणमा अवरोध देखिएमा सम्बन्धित निकायबीच तत्काल समन्वय गरेर समस्या समाधान गर्ने जिम्मेवारी यस टोलीलाई दिइएको छ। निगमको हटलाइनमा आउने गुनासोका आधारमा सम्बन्धित ग्यास उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरी उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाएको छ।

पछिल्लो समय बजारमा ग्यास अभाव भएपछि उपभोक्ता लामो लाइनमा बस्न बाध्य भएको अवस्थालाई ध्यानमा राख्दै यस्तो संयन्त्र सक्रिय बनाइएको निगमको भनाइ छ। कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गरी तत्काल निकास दिने गरी कार्यविधि तय गरिएको पनि निगमले जनाएको छ।

ग्यास आपूर्तिसम्बन्धी समस्या वा गुनासो भएमा उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्। उक्त नम्बरमा प्राप्त सूचनाका आधारमा ‘क्विक रेस्पोन्स टिम’ले आवश्यक समन्वय गरी आपूर्ति सहज बनाउने निगमले जनाएको छ।

२०८३ साउन २० गते बुधवार १६:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु