निर्मला पन्तबारे प्रश्न सोध्ने सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरू सत्तामा हुँदा किन गर्नुभएन ?
काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबारे राष्ट्रिय सभामा उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले सरकारले उक्त घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइरहेको बताएका छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तले न्याय कहिले पाउने भन्ने प्रश्न उठाएपछि गृहमन्त्री गुरुङले विगतका सरकारतर्फ संकेत गर्दै प्रतिप्रश्न गरेका थिए।
‘तपाईंहरू सत्तामा हुँदा किन गर्नुभएन ? अहिले हामीलाई यो भारी बोकाउँदा यस विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ,’ गृहमन्त्री गुरुङले भने।
उनले निर्मला पन्त प्रकरणमा पीडित परिवारको संवेदनशीलतालाई ध्यान दिनुपर्ने भन्दै घटनालाई सार्वजनिक बहसको विषय बनाउँदा परिवारको पीडा थप बल्झिन सक्ने बताए।
‘यसको प्रगतिबारे मलाई व्यक्तिगत रूपमा आएर सोध्नुहोस्, मसँग उत्तर छ। तर यसरी सार्वजनिक रूपमा पटक–पटक चर्चा गर्दा आमाको पीडा मात्रै बल्झिन्छ,’ उनले भने।
गृहमन्त्रीको भनाइप्रति सांसद विश्वकर्माले आपत्ति जनाउँदै संसद्मा प्रश्न उठाउनु सांसदको संवैधानिक तथा विधायकी अधिकार भएको बताए। उनले जनप्रतिनिधिले उठाएका प्रश्नको जवाफ सरकारले सदनमै दिनुपर्ने धारणा राखे।
२०८३ साउन २१ गते बिहीवार १७:२६ बजे प्रकाशित























