"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

ग्यास कालोबजारी गरे जफत

मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ ।

केही दिनदेखि एल.पी. ग्यास अभाव भइरहेको पाइएपछि मकवानपुर प्रशासनले एल.पी. ग्यास कृत्रिम अभाव सिर्जना गरेको र कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गरी सम्बन्धित व्यक्ति वा संस्थामाथि आवश्यक कानुनी कारबाही अगाडि बढाइने भएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले हाल जिल्लाभित्र एल.पी. ग्यासको आपूर्तिमा असहज अवस्था सिर्जना भई सर्वसाधारण उपभोक्ताले आवश्यक परिमाणमा खाना पकाउने ग्यास प्राप्त गर्न कठिनाइ भइरहेको तथा केही व्यक्तिहरूले आवश्यकता भन्दा बढी एल।पी। ग्यास सिलिण्डर सञ्चय (स्टक)गरेको गुनासो प्राप्त भएको जानकारी दिए।

उहाँले एल.पी. ग्यास सिलिण्डर सञ्चय आवश्यकता भन्दा बढी गरेको,  कृत्रिम अभाव सिर्जना भएको र दर्ताविहीन रूपमा ग्यासको खरिद बिक्री भइरहेको जानकारीमा आएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सरोकारवाला निकायहरूको बैठकबाट टास्क फोर्स गठन गरिएको बताउनुभयो । उहाँका अनुसार गुनासो सुन्ने टास्क फोर्सको नम्बरमा सन्देशमार्फत जानकारी गराउन सकिने छ ।

विधिवत् दर्ता नगरी एल.पी.ग्यासको खरिद–बिक्री नगर्नेरनगराउने बैठकले निर्णय गरेको छ । सहायक प्रजिअ जोशीद्वारा सूचनामा जिल्ला प्रशासन कार्यालय, हेटौँडा उपमहानगरपालिका, मकवानपुर उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हकहित संरक्षण मञ्च र ग्यास डिलर एशोसिएसनका प्रतिनिधिहरू सहभागी टास्क फोर्सबाट बजार अनुगमन तथा आवश्यक कारबाहीका लागि क्रियाशील भइसकेको उल्लेख छ ।

साथै जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाको बेवास्ता गरी आवश्यकता भन्दा बढी एल।पी। ग्यास सिलिण्डर सञ्चय गरेको, कृत्रिम अभाव सिर्जना गरेको, कालोबजारी गरेको वा दर्ताविहीन रूपमा एल। पी। ग्यासको खरिद–बिक्री, भण्डारण तथा वितरण गरेको पाइएमा ग्यास सिलिण्डर जफत गरी सम्बन्धित व्यक्ति वा संस्थामाथि आवश्यक कानुनी कारबाही अगाडि बढाइने सहायक प्रजिअ जोशीले जारी गरेको सूचनामा भनिएको छ ।

२०८३ साउन २२ गते शुक्रवार १७:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु