मन्त्रिपरिषद्का ५ निर्णय, एनसेल प्रतिवेदन सार्वजनिकदेखि एम्बुलेन्स र शव वाहनमा कर छुटसम्म
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरेका हुन्।
सरकारका अनुसार बैठकले विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनलाई कर छुट दिने, प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने, पोर्चुगललाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न अनुमति दिने, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने तथा एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
१. एम्बुलेन्स र शव वाहनमा कर छुट
नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरिएको छ।
२. चार जनालाई शहीद घोषणा
सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरिएको छ।
शहीद घोषणा हुनेमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रबिन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादव रहेका छन्।
३. पोर्चुगललाई काउन्सिलर कार्यालय खोल्न अनुमति
सरकारले पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको छ।
४.वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्त
मन्त्रिपरिषद् बैठकले बाराका निर्मल कुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको छ।
५.एनसेल सेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने
पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको २०८० को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
सरकारले सार्वजनिक गरेका यी निर्णयमध्ये एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने निर्णयलाई विशेष चासोका साथ हेरिएको छ।
२०८३ साउन २६ गते मंगलवार १७:०२ बजे प्रकाशित























