बाढीपहिरोपछि सडक–पुल सञ्चालनमा भारतको सहयोग, १६ ट्रकमा २३० फिट लामो स्टिल ब्रिजका उपकरण नेपाल आउँदै
काठमाडौं । बाढीपहिरोका कारण सडक तथा पुलमा पुगेको क्षतिपछि अवरुद्ध यातायात सञ्चालनमा सहयोग पुर्याउन भारतले नेपालतर्फ संरचनागत सहयोग पठाएको छ।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरका अनुसार २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिज निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रक नेपालतर्फ प्रस्थान गरिसकेका छन्। त्यसैगरी, थप सात वटा बेली ब्रिजका उपकरण तथा तिनको जडानका लागि आवश्यक प्राविधिक टोलीसमेत छिट्टै नेपाल आइपुग्ने उनले बताएका छन्।
जयशंकरले आइतबार बिहान सामाजिक सञ्जालमार्फत नेपालको बाढीपहिरोपछि जारी खोजी, उद्धार तथा राहत अभियानमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।
भारतले बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका लागि ११ टन सामग्री र प्राविधिक टोलीसहितको चौथो विमानसमेत नेपाल पठाएको छ।
भारतीय वायुसेनाको सी–१३० विमानमार्फत विपद् व्यवस्थापन तथा खोजी–उद्धारका लागि आवश्यक उपकरणसहितको सुरुङ (टनेल) प्राविधिक टोली नेपाल आइपुगेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।
त्यस्तै, डीएनए विश्लेषणका लागि आवश्यक उपकरणसहित फरेन्सिक विशेषज्ञहरूको टोली पनि नेपाल आइपुगेको छ। विपद्का क्रममा ज्यान गुमाएका तथा पहिचान हुन नसकेका व्यक्तिको पहिचानमा उक्त टोलीले सहयोग गर्नेछ।
भारतबाट पठाइएको राहत सामग्रीमा ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइका सामग्रीलगायत रहेका छन्। दूतावासका अनुसार यो नेपाल पठाइएको भारतको चौथो खेपको सहायता हो।
काठमाडौंमा ६८.५ टन राहत सामग्री
भारतले बाढीपहिरोपछि हालसम्म हवाई मार्गबाट ६८.५ टन राहत सामग्री काठमाडौं ल्याइसकेको जनाएको छ।
यसअघि पठाइएका सामग्रीमा अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर, तयारी खानाका प्याकेट, पानी शुद्धीकरण गर्ने ट्याब्लेट तथा विभिन्न प्राविधिक उपकरणहरू रहेका छन्।
बाढीपहिरोका कारण सडक तथा पुलमा क्षति पुगेपछि यातायात तथा आवागमन प्रभावित भइरहेका बेला भारतले राहत सामग्रीसँगै पुल निर्माणका उपकरण र प्राविधिक जनशक्ति पठाएको हो। यसबाट प्रभावित क्षेत्रमा यातायात पुनः सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
२०८३ भदौ १४ गते आइतवार १०:३८ बजे प्रकाशित





















