खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक, आन्तरिक छानबिन सुरु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद खगेन्द्र सुनारमाथि लागेका आरोपबारे आन्तरिक छानबिन सुरु गर्दै सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा महिलाको मर्यादामा आँच पुर्याउने कार्य, अनुचित दबाब, धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपबारे छानबिन गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिइएको उल्लेख छ ।
छानबिन निष्कर्षमा नपुगेसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको छ ।
रास्वपाले राज्यका सम्बन्धित निकायबाट हुने अनुसन्धानमा पूर्ण सहयोग गर्ने र अनुसन्धानको निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानअनुसार थप कदम चाल्ने जनाएको छ ।

२०८३ असोज २७ गते मंगलवार ११:४१ बजे प्रकाशित























