भोटेकोशी पीडितका लागि अमेरिका थप सहयोगमा : दुई कार्गो विमानमा राहत, २६ सय परिवारलाई सामग्री
काठमाडौँ। भोटेकोशी हिमबाढीबाट प्रभावित समुदायका लागि संयुक्त राज्य अमेरिकाले मानवीय सहायता थप गर्दै लगेको छ । नेपालको नेतृत्वमा भइरहेको खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन अमेरिकी सेनाका दुई कार्गो विमानमार्फत आपत्कालीन राहत सामग्री नेपाल आइपुगेको हो ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार बुधबार नेपाल आइपुगेको राहत सामग्रीमा पाँच हजार थान विशेष राहत सामग्री, पाँच सय प्राथमिक उपचार किट, स्ट्रेचर तथा भारवहन उपकरण रहेका छन् । नेपाल सरकारको अनुरोधमा उक्त सामग्री उपलब्ध गराइएको दूतावासले जनाएको छ ।
यसअघि अमेरिकाले भोटेकोशी बाढी प्रतिकार्यका लागि तीन लाख ६० हजार अमेरिकी डलर बराबरको सहायता घोषणा गरिसकेको थियो । नयाँ राहत सामग्रीसँगै उक्त सहायता पनि विपद् प्रतिकार्यमा परिचालन भइरहेको दूतावासले जनाएको छ ।
अमेरिकी दूतावासले नेपालसँगको दीर्घकालीन साझेदारीलाई स्मरण गर्दै विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो साझा दायित्व भएको बताएको छ । आवश्यकताअनुसार सहायता निरन्तर उपलब्ध गराउने प्रतिबद्धतासमेत दूतावासले जनाएको छ ।
२०८३ भदौ १८ गते बिहीवार १०:२६ बजे प्रकाशित






















