भदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन ओलीको माग
काठमाडौँ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका घटनाको गम्भीर छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।
बुधबार जारी प्रेस वक्तव्यमार्फत ओलीले युवा प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, घटनापछि कर्तव्यपालनाका क्रममा ज्यान गुमाएका प्रहरीप्रति पनि उनले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
लोकतन्त्रमा नागरिकले आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण रूपमा राख्न पाउने उल्लेख गर्दै ओलीले भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवनलगायतका स्थानमा भएको आगजनी, तोडफोड र आक्रमणलाई दुःखद् घटनाका रूपमा चित्रण गरेका छन्।
आफू नेतृत्वको तत्कालीन सरकारले न्यायिक छानबिन आयोग गठन, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने तथा घाइतेको निःशुल्क उपचार र पीडित परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको पनि उनले स्मरण गरेका छन्।
२०८३ भदौ २४ गते बुधवार १२:४० बजे प्रकाशित























