४१५ रुपैयाँको सामान किन्दा गौरीशंकरले जिते १० लाख
काठमाण्डौ । ४१५ रुपैयाँको सामान खरिद गरेका धनुषाका गौरीशंकर पण्डितले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ जितेका छन् ।
आन्तरिक राजस्व विभागका अनुसार पण्डितले कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको सामान किनेर ई–सेवामार्फत भुक्तानी गरेका थिए ।
कात्तिक १ देखि १५ गतेसम्मको अवधिका लागि १५ जनालाई जनही १ लाख ३३ हजार ३४ रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँको बम्पर उपहार घोषणा गरिएको हो ।
सरकारले बिलबिजक लिने–दिने संस्कृतिलाई प्रोत्साहन गर्दै आर्थिक कारोबार पारदर्शी बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा १०० रुपैयाँभन्दा बढीको खरिद गर्ने उपभोक्ता सहभागी हुन सक्छन् ।
२०८३ कात्तिक १६ गते सोमवार १३:२९ बजे प्रकाशित























