नागढुङ्गा सुरुङमार्गमा सवारीअनुसार फरक टोल शुल्क, कारलाई ६५ रुपैयाँ
काठमाडौँ । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि टोल शुल्क संकलन सुरु भएको छ ।
निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर तथा माइक्रोबसले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, मिनी बस तथा मिनी टिपर र ट्रकले प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेशमा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तोकिएको छ ।
यसैगरी, मल्टी एक्सल ट्रक तथा भारी सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।
सडक बोर्ड नेपालको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारीसाधनको वर्ग र यात्राको दिशाका आधारमा शुल्क निर्धारण गरिएको हो ।
२०८३ कात्तिक १५ गते आइतवार १२:४१ बजे प्रकाशित























