डोल्पामा आठ जनाविरुद्ध ७३ लाखको भ्रष्टाचार मुद्दा
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठ जनाविरुद्ध ७३ लाख ६१ हजार ९५३ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा वडा नम्बर ६ हरियापानी–पालङ्ग–माझफाल हुँदै रुकुमसम्मको सडक निर्माणको ठेक्का प्रक्रियामा कम रकम कबोल गर्ने बोलपत्रदातालाई अयोग्य ठहर गरी बढी रकम कबोल गर्नेलाई ठेक्का दिइएको थियो।
मुद्दा दायर हुनेमा नगरपालिकाका कर्मचारी, बोलपत्र मूल्याङ्कन समितिका सदस्य तथा छल निर्माण सेवा प्रालि र त्यसका सञ्चालक दिपचन्द रोकाय छन्।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुलसहित सजायको मागदाबी गर्दै मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
२०८३ असोज ६ गते मंगलवार १७:१९ बजे प्रकाशित























