नारायणीको बाढीले सुस्ता डुबानमा, ४ सय जना स्थानान्तरण
नवलपरासी । नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ डुबानमा परेपछि करिब ४ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ।
बाढीले थारु, पहाडिया, सैनिक र बड्का टोलका करिब १ सय ७० घर प्रभावित भएका छन्। नदीले बस्ती नजिकै तीव्र कटानसमेत गरिरहेको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र नेपालका अनुसार होल्डिङ सेन्टरमा सबैलाई राख्न नसकिने भएपछि सुस्तावासीलाई झोलुङ्गे पुल वारी ल्याएर विद्यालय तथा अन्य सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ।
सुस्तामा पाँचदेखि छ फिटसम्म पानी जमेको र बस्ती थप जोखिममा रहेको स्थानीयले बताएका छन्। उद्धारका लागि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
२०८३ असोज १० गते शनिवार १२:४५ बजे प्रकाशित























