ओहायोको ट्रक कारखानाबाट १४ हजार कामदारले गुमाए रोजगारी
ओहायो । अमेरिकाको ओहायोस्थित एक ट्रक कारखानाबाट करिब १४ हजार कामदारले रोजगारी गुमाएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी सभा हुनुभन्दा केही दिनअघि भएको ठूलो कर्मचारी कटौतीले स्थानीय श्रमिक समुदायमा चिन्ता बढाएको छ।
दक्षिणपश्चिमी ओहायोस्थित पूर्व नाभिस्टार ट्रक कारखानामा बुधबार कर्मचारी कटौती गरिएको हो। यसबाट डेटन क्षेत्रको रोजगारीमा उल्लेखनीय असर परेको बताइएको छ।
रोजगारी गुमाउनेमध्ये ३० वर्षीय काइल बोस पनि छन्। दुई छोरीका पिता बोसको अर्को बच्चा जनवरीमा जन्मिने तयारीमा छ। उनले रोजगारी गुमाएपछि परिवारको दैनिक खर्च व्यवस्थापन गर्न कठिन भएको र खाद्यान्नलगायत आवश्यक वस्तुको मूल्य बढिरहेको बताएका छन्।
बोसले यसअघि तीन पटक ट्रम्पलाई मतदान गरेका थिए। तर, पछिल्लो अवस्थाबाट आफू निराश भएको बताउँदै उनले आगामी नोभेम्बरको चुनावमा डेमोक्र्याटिक पार्टीका लागि मतदातासँग सम्पर्क गर्ने अभियानमा सहभागी हुने तयारी गरेका छन्।
यसैबीच, ट्रम्पले शनिबार सोही क्षेत्रमा चुनावी सभा गर्दै छन्। उद्योग र रोजगारीका लागि परिचित डेटन क्षेत्रमा रोजगारी घट्नु र दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा स्थानीय परिवारमाथि आर्थिक दबाब थपिएको छ।
२०८३ असोज १८ गते आइतवार १२:४९ बजे प्रकाशित























