किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल, कृषक चिन्तित
ढोरपाटन । वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियपछि अहिलेसम्म पानी परेको छैन। लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन्।
अघिल्ला वर्षहरुमा यति बेला यस क्षेत्रका खेतमा कृषकले धान लगाउन सुरु गर्थे। वर्षा नहुँदा खोलानालासमेत सुकेका छन्। खोलानाला सुक्दा सिँचाइको चरम अभावमा रहेका किसानलाई धानको बीउ र कुटाउने बेलाका मकै जोगाउन हम्मेहम्मे परेको छ।
जेठ अन्तिम सातदेखि रोपाइँ गर्ने किसान यति बेला आकाश हेर्दै बस्न बाध्य छन्। कतिपय किसानको ब्याडमा रोप्नका लागि तयार भएका बिरुवासमेत सुकेर मर्न थालेका हुन्। असार सुरु हुँदासमेत पानी नपर्दा धानको बीउ, मकै तथा अन्य तरकारीसमेत सुक्न थालेको कृषकको गुनासो छ।
२०८० असार ७ गते बिहीवार १९:५४ बजे प्रकाशित























