उकालो लाग्दै अण्डाको मूल्य, प्रति क्रेट कति पर्छ ?
चितवन । किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमश: उकालो लाग्न थालेको छ । बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य ठूलो अण्डा ३० गोटा (एक क्रेट) को रु चार सय, मिडियम अण्डा रु तीन सय ८० र एक्सट्रा लार्ज (अझ ठूलो) को रु चार सय १० कायम गरिएको छ । अण्डाको मूल्य घट्दै गएर किसान बिस्थापित हुन थालेपछि देशभरका ठूला व्यवसायी सङ्गठित भएर नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरी बजारीकरणमा जुटेका छन् ।
सङ्घका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट रु चार सय ३५ पर्न आउँछ । अण्डाको मूल्य घट्दै गएर रु दुई सय ४० सम्म झरेको थियो । उनले भने, “पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु ६५ पर्दा अण्डाको मूल्य लागत मूल्यको तुलनामा बढ्न सकेको छैन ।”
२०८० असार ११ गते सोमवार २०:२० बजे प्रकाशित























