आज विश्व उपभोक्ता अधिकार दिवस, गुणस्तरीय खाद्यान्नको ग्यारेन्टी गर्न उपभोक्ताकर्मिको माग
काठमाडौ । विश्व उपभोक्ता अधिकार दिवस, उपभोक्ता हितका विषयमा विभिन्न चेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइने गरिएको छ ।आम नागरिकको दैनिक जीवनसँग सरोकार राख्ने दिवसको रुपमा विश्वव्यापी तवरले मार्च १५ लाई ‘विश्व उपभोक्ता अधिकार दिवस’को रुपमा मनाइने गरिएको छ ।
अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले १९६२ मार्च १५ मा अमेरिकी कंग्रेसमा अधिकार सहितको बिल अफ राइट को घोषणा गरेको दिनको संझनामा यो दिवस मनाउन थालिएको हो ।
उपभोक्ता अधिकारका विषयमा आवाज उठ्दै आएपनि व्यवहारिक परिणाम आउन सकेको छैन ।
उपभोक्ता अधिकारकर्मि रञ्जन शर्माले उपभोक्ता हकहित संरक्षणका लागि यति धेरै अधिकारको व्यवस्था भए पनि कार्यान्वयन पक्ष भने फितलो भएका कारण उपभोक्ताले यी अधिकारको प्रत्याभूति गर्न नपाएका बताउछन् । सरकारले समयसापेक्ष र जनअपेक्षाअनुरूप वैज्ञानिक र व्यवस्थित आपूर्ति प्रणालीको व्यवस्था मिलाउन नसक्नु, मागअनुसार आन्तरिक उत्पादन वृद्धि गर्न नसक्नु आयातित वस्तुमा निर्भर हुनु नै सरकारको कमजोरी रहेको पाइएको छ । सरकारले बजारमा भइरहेको कालोबजारी, सिन्डिकेट, खाद्यवस्तुमा मिसावट र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेका कारण उपभोक्ता अन्यायमा परेका छन् । सरकारले बजार अनुगमनमा प्रभावकारी संयन्त्र परिचालन गर्न नसक्दा वस्तु तथा सेवा क्षेत्रमा कालो बजारी बढ्दै आएको शर्मा बताउछन् ।
वस्तु र सेवाको गुणस्तर घोषणा नगर्ने, लेबल नै नभएको वस्तु बेच्ने, औद्योगिक र उपभोक्तालाई दिने बेलाको नापतौलमा ब्यापक ठगी गर्ने भ्रमपूर्ण विज्ञापन आदिबाट व्यापक ठगी भइरहेकाले नियमनको जरुरी रहेको अधिकारकर्मीको भनाई छ । उपभोक्ता हकहित संरक्षणका लागि अधिकारहरुको व्यवस्था भए पनि कार्यान्वयन फितलो हुँदा उपभोक्ताले अधिकारको प्रत्याभूति गर्न पाएका छैनन् ।
२०८० चैत २ गते शुक्रवार १९:०६ बजे प्रकाशित























