नागढुंगा–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने
भरतपुर – नागढुंगा–मुग्लिन सडक खण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा पहिरोको जोखिम बढेपछि ढुंगा तथा माटो हटाउन सडक बन्द गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द हुनेछ । उक्त समयमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकेर जोखिमयुक्त ढुंगा तथा माटो हटाइनेछ ।
गत मंसिर १ गते घोप्टेभीरमा खसेको ढुंगाले लागेर मोटरसाइकल चालक ६१ वर्षीय गङ्गाराम महर्जनको मृत्यु भएको थियो । सम्भावित दुर्घटना रोक्न जोखिम न्यूनीकरणको काम अघि बढाइएको प्रशासनले जनाएको छ ।
२०८३ मंसिर ५ गते शनिवार १६:११ बजे प्रकाशित























