प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। तर पार्टीका शीर्ष तहका नेताहरूले भने पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छैनन्।
कांग्रेसकी विघटित प्रतिनिधिसभा सचेतक सुशीला थिङका अनुसार शीर्ष नेताबाहेकका ६५ सांसदले पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर गरेका हुन्। ‘हामी विघटित प्रतिनिधिसभामा पार्टीका ६५ जनाले हस्ताक्षर गरेका छौँ,’ थिङले भनिन्, ‘शीर्ष नेताहरूले हस्ताक्षर गर्नुभएको छैन। हामीले उहाँहरूलाई हस्ताक्षर गर्न पनि भनेका छैनौँ।’
कांग्रेस संसदीय दल स्रोतका अनुसार सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा इतर समूहका नेता डा। शेखर कोइरालासहितका नेताहरूले पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छैनन्।
यसअघि कांग्रेसका ८ जना निवर्तमान सांसदले मंसिर २३ गते प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिसकेका छन्। निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ तथा सांसदहरू दीपक खड्का, जाबेदा खातुन जागा, आशा बिक, सिता राना, शान्ति बिक र नागिना यादवले रिट दायर गरेका हुन्।
उक्त रिटमा पूरक निवेदनका रूपमा बहुमत सांसदको हस्ताक्षरसहित सोमबार सर्वोच्च जाने तयारी भइरहेको थिङले जानकारी दिइन्।
२०८२ पुस ६ गते आइतवार १७:१३ बजे प्रकाशित






















