आवासको व्यवस्था नगरी सुकुमबासी हटाउने निर्णय फिर्ता लिन आङ्देम्बेको माग
काठमाण्डौ – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा रहेका सुकुमबासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत उहाँले भक्तपुरको बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई हिउँदको चिसोमा हटाउन खोज्नु निन्दनीय भएको बताउनुभएको छ ।
उहाँले भूमिहीन दलित र सुकुमबासीको जग्गा तथा आवासको टुङ्गो लगाएर मात्रै व्यवस्थापन प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गर्नुभएको छ ।
संविधानले सुनिश्चित गरेको आवासको हकविपरीत नागरिकलाई सडकमा पुर्याउन नहुने भन्दै उहाँले विस्थापित परिवारको सुरक्षित र सम्मानजनक पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ ।
भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा रहेका १९ परिवारका ५९ जनालाई जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएको छ । प्रशासनले घरभाडाबापत १५ हजार रुपैयाँ लिएर सेन्टर छाड्न भनेको छ ।
२०८३ मंसिर ११ गते शुक्रवार १३:२१ बजे प्रकाशित






















