"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भागबण्डा र षड्यन्त्रको राजनीतिले मुलुकमा समस्या सिर्जना गरेको छ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भागबण्डा र षड्यन्त्रको राजनीति मुलुकका लागि ठूलो समस्या भएको बताएका छन्। चितवनको मनकामनामा आयोजित कार्यक्रममा लामिछानेले व्यक्तिगत लाभका लागि राजनीतिक पद बाँडफाँड गर्दा मुलुकमा समस्याहरू बढेको बताए।

लामिछानेले भने, “यो देशको समस्या व्यक्तिगत लाभका लागि पदहरूको भागबण्डा र षड्यन्त्रको राजनीति हो। जबसम्म यस्ता गतिविधि रहिरहन्छन्, नेतृत्व फुर्सदमा हुँदैन र मुलुकका विकास योजनाहरू पछि पर्छन्।” उनले रास्वपामा जिम्मेवारी क्षमता र विशेषज्ञताको आधारमा बाँडफाँड गरिएको पनि स्पष्ट पारे।

सभापति लामिछानेका अनुसार एउटै व्यक्तिले सबै क्षेत्रमा काम गर्न सक्दैन। त्यसैले विद्वान सल्लाहकार र क्षेत्रीय विशेषज्ञहरूलाई पार्टीमा समावेश गरी काम अघि बढाइन्छ। उनले थपे, “आफूलाई थाहा नभएका क्षेत्रबारे थाहा भएका साथीहरूलाई जिम्मेवारी दिनुपर्छ।”

लामिछानेले विकास निर्माणमा ढिलाइ भइरहेको र देश पूर्वाधार संकटमा रहेको बताए। समस्या समाधानका लागि कानुन संशोधन र विशेषज्ञता आधारित निर्णय आवश्यक रहेको उनको भनाइ थियो।

आगामी फागुन २१ मा हुने निर्वाचनमा रास्वपाले युवा, विज्ञ, र विभिन्न पेशामा दक्ष व्यक्तिहरूलाई उम्मेदवार बनाएको लामिछानेले जानकारी दिए। उनले व्यक्तिगत स्वार्थ नभएको र केवल देश निर्माणमा केन्द्रित रहेको पनि जोड दिए।

नेपालमा षड्यन्त्र र भागबण्डाको राजनीति अन्त्य गरी जिम्मेवार र दक्ष नेतृत्वलाई अघि ल्याउनुपर्ने आवश्यक रहेको उनले बताए ।

२०८२ माघ २५ गते आइतवार १७:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु